डडेल्धुरा - जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ८ लटाउली गाउँको खानेपानी समस्या, पुस्तौँ देखिकै हो । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गसँगै जोडिएको लटाउलीगाउँ प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको पूर्वतर्फ छ ।
राजमार्गको तलतिर रहेको गाउँबाट अहिले स्थानीय सडक छेउछाउमा घर बनाएर बस्दै आएका छन् । गाउँ छोडेर स्थानीय सडक छेउछाउको जमिनमा बसोबास गर्दै आइरहे पनि खानेपानीको समस्या भने समाधान हुन सकेको छैन । स्थानीयहरू उग्रतारा मन्दिरको धारामा आउने पानी, मन्दिरमुनि रहेको नाउला (कुवा)सहित छेउछाउका नाउला र डकले बजारको एक धाराकै भरमा स्थानीय छन् ।
गर्मीयाममा पानीका मुहान सुक्दै गएपछि अमरगढी नगरपालिकाले दमकलमा पानी ल्याई स्थानीयलाई बाँड्ने गरेको छ । मन्दिरनजिकै सशस्त्र प्रहरीको गण पनि स्थापना गरिएकाले त्यहीँबाट सशस्त्र प्रहरी कार्यालयले पनि सोही ठाउँबाट पानी उपभोग गरिरहेको छ । पोखराको पानी पोखरा क्षेत्रका स्थानीयलाई समेत पर्याप्त पुग्न सकेको छैन ।
लटाउलीगाउँ माथिको सानो बजार डकलेको एक घरसम्म सदरमुकामको खलङ्गा खानेपानी उपभोक्ता समितिबाट पानी आउँछ । जिल्ला सदरमुकामवासीलाई पनि पानी पर्याप्त नभएको भन्दै खलङ्गाले पनि लटाउली गाउँमा पानी दिँदैन । मन्दिर छेउछाउमा पर्याप्त पानीका मुहान नहुँदा लटाउली गाउँवासी खानेपानीको समस्या झेल्दै आइरहनुभएको छ । सरकारी तथा सामुदायिक वनमा वर्षेनी भइरहेको वन विनाशका कारण पानीका मुहान सुकेको स्थानीय जानकरहरु बताउँछन्।
लटाउली गाउँका स्थानीयहरू बिहानै उठेर करिब एक घण्टासम्मको दूरीमा रहेका नौलाहरूमा पुगेर पानी सङ्कलन गरिरहेको स्थानीय प्रकाश साँकीले बताए । ५०/६० लिटरका ग्यालेन लगेर नाउलाबाट पानीको जोहो गरेर पिठ्युमा बोकेर घरसम्म ल्याई गुजारा गर्दै आएको स्थानीय जमुना साँकीको भनाइ छ ।
आर्थिक वर्ष २०७४/७५ मा खानेपानीको समस्या समाधान गर्न उग्रतारा मन्दिर छेउमा जमिनमुनिबाट पानी निकाल्न ३५ लाख रुपियाँको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत काम सुरु भएको थियो । एक स्थानबाट पानी नआएपछि अर्को स्थानबाट पानी निकालिएको थियो ।
सो खानेपानी केही महिना गाउँमा वितरण गरिए पनि दीर्घकालीन रूपमा भने पानीको समस्या समाधान हुन सकेन । केही महिनामा मोटर बिग्रियो । तीन लाख रुपियाँका दरले तीनवटा नयाँ मोटर जडान गरिए । फेरि पनि मोटर बिग्रिएपछि खानेपानी वितरण बन्द छ । बत्तीको महसुल धेरै आउने, धमिलो रातो पानीले पाइप बन्द हुने समस्या आएसँगै अहिले पानी नै आउन बन्द भइसकेको वडाध्यक्ष नरबहादुर साँकीले बताए ।