अत्तरिया – दशैंको पहिलो दिन घटस्थापनाबाट सबैतिर दशैको चहल पहलले छोई सकेको छ, तर पछिल्लो समय जस्तो दशैको महत्व, महिमा र दशैं मनाउने तरीकामा भने परिवर्तन आएको अधिकान्सले बताउने गरेका छन ।
जुन एउटा हर्ष, उल्लास, उत्साह र महत्व थियो । दशैंको सभ्य समाज आधुनिकिकरण, शहरीकरण, अरुको नक्कल गर्ने आदि इत्यादि कारणले सानादेखि ठूलासम्म दशैंको रौनक घट्दो छ । पहिला ठूलो परिवार हन्थ्यो, आयश्रोत कम हुन्थ्यो मिठो मसिनो राम्रा गरगहना र लत्ता कपडा सरसामान जुटाउन चाडवाड कुर्नु पर्दथ्यो ।
तर आज सानो परिवार छ, घरका कोहि न कोहि सदस्य विदेशमा छन, सबै कुनै न कुनै व्यापारमा लाग्ने, राम्रो लगाउन मिठो खान चाडवाड कुर्नु नपर्ने अवस्थामा अधिकान्स पुगेका छन् । पछिल्लो समय नेपालीहरुको आर्थिक स्तरमा आएको परिवर्तनले पनि दशैंलाई परिवर्तन गरेको छ ।
पहिलेको दशै, अहिलेको दशै के के परिवर्तन पाएका छन जेष्ठ नागरिकले भनेर केहि व्यक्तिका प्रतिनिधिमुल धारण समेटेका छौ ।
दशैंमा बुढापाकाबाट आर्शिबाद लिने कुरामा कमि आएको छ
गोदावरी नगरपालिका २, कुमार निरौला, उमेर ६६ बर्ष
दशै समय अनुसार परिवर्तन आएको छ । अहिले परम्परालाई समाएर भन्दा पनि फरक किसीमले मनाउने गरेको पाएको छु । अहिले पाश्चात्य संकृती पनि भित्रीएकोले दशै लगायतका नेपालीहरुका चाडपर्व ओझेलमा पर्दै गएका छन । अहिले आधुनिकतामा नाममा अलि उश्रीङ्खल हुँदै गएको , खानपानमा पनि परिवर्तन हुँदै गएको छ ।
दशैंमा आफू भन्दा ठुला बाट टिका लगाउँने , सम्मान गर्ने कुरा पनि कम हुँदै गएको छ । पुराना सौलिका पिङ खेल्नै पर्छ भनिन्थो, टिका लगाएपछि भुई छोड्नै पर्छ भनिन्थो तर अहिले पिङै खेल्ने चलन हटिसकेको जस्तै छ । अहिले परम्पराका कुरा हराउँदै गएका छन । अहिलेको पिडीले नयाँ नयाँ कुरामा रुची राख्ने गरिरहेका छन ।
संस्कृती पनि अलि अलि गरेर बदलिदै जाने भएपनि मुल मर्म चाहि मर्नु हुँदैन । दशैंमा बुढापाखाबाट आर्शिबाद लिने कुरामा पनि कमि आएको छ , बुढा पाखा जान्दैनन् भन्ने मानसिकता पनि अहिलेको युवा पुस्तामा विकास हुँदै गएको छ ।
पहिले दशैंका समयमा नयाँ नयाँ लुगा लगाउँने गरिन्थो , पहिले कपडाको अभाव हुन्थो, दशैं आएपछि नयाँ कपडा लगाउँदा छुटै रौनक हुन्थो तर अहिले धेरै जसो समय मानिस नयाँ कपडा लागाउँन पाएका छन । कपडा किन्न दशै कुर्नु पर्दैन । दशैंमा पहिलेको जस्तो कुल पुजा गर्ने परम्परा पनि कम हुँदै गएको छ ।
बर्षमा एक दिन नयाँ लुगा लगाउँन पाईन्थो
गोदावरी नगरपालिका २, बम बहादुर मल्ल, उमेर ७६ बर्ष
हाम्रो दिनको एक जोरी लुगा सिलाएर दशैमा लगाईन्थो बर्षमा एक पटक नयाँ लुगा लगाउँन पाईन्थो । नयाँ लुगा लगाउँन पाउँदा छुटै खुसि हुन्थो । उती बेला पैसाको पनि अभाव लुगा कपडाको पनि अभाव हुन्थो ।
पहिले नेपालको पश्चिमको दशैं र पुर्वको दशैंमा फरक थियो अहिले सबै समान जस्तै भईसकेको छ । पहिला हाम्रो क्षेत्रमा दशैंमा मन्दिरमा जमरा राख्ने, टिका पण्डितको हातबाट लगाउँने , घरमा दिदी बहिनीको हातबाट टिका लगाईन्थो । अहिले पुर्व बाट आएको चलन अनुसार घरमा जेष्ठ नागरिकबाट मात्रै टिका लगाउने चलन छ ।
दशैंमा चेलिबेटी माईतमा बोलाउँने मिठो खानेकुरा पकाउँने गरिन्थो तर अहिले त्यो पनि बिस्तारै घटेको जस्तो लागेको छ ।
पहिले पिङ खेल्ने गरिन्थो अहिले पिङ लोप हुँदै गएको छ
गोदावरी नगरपालिका १, चिन्तामणी घिमीरे, उमेर ६६ बर्ष
पहिलेको दशैं परम्परागत तरिकारले मनाईन्थो अहिले आधुनिक हुँदै गएको छ । त्यतिबेला आफ्नो कुल पुजा गरिन्थो ।
पहिले पिङ खेल्ने गरिन्थो अहिले पिङ लोप हुँदै गएको छ । अहिले पिङ बनाएको पनि पाईदैन । मानीसहरुमा दशैको महत्त घट्दै गएको छ ।
बढ्दो आधुनिकिकरण, अस्तव्यस्त समाज, शहरीकरण,सामाजिक प्रतिस्पर्धा र देखासिकी, सानो परिवार, समयको आवश्यकता भन्दै आफ्नो धर्म, संस्कृति र दशैंको महत्व पहिलाको तुलनामा कम हुँदै गएको छ ।
पुरानो पुस्ता सकिंदै जाने र नयाँ पुस्ताले आफ्नो धर्म, संस्कृति चाडवाडमा त्यति महत्व नदिने प्रचलन बढेको छ । एक अर्का प्रतिको माया, प्रेम र सम्मान सबै हराउँदै गएको छ । आफ्नो परम्परा, सस्कृति चाडबाड नै मासिने डर छ । त्यसैले दशैं गरीमा जोगाउँन यो पर्व मनाउँने समुदायले सजक हुन आवश्यक छ ।