कैलाली - मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिरहेका बेला सबै दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्।
नेकपा (एमाले) को तर्फबाट पूर्वमन्त्री गौरीशङ्कर चौधरी, गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का कृष्ण चौधरी ‘कुन्दन’ र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गा चौधरी मुख्य प्रतिस्पर्धी रहेको स्थानियको बुझाई रहेको छ ।
उक्त निर्बाचन क्षेत्रमा एक लाख सात हजार ६५९ मतदाता रहेका छन् । एमाले उम्मेदवार गौरीशङ्कर चौधरी तत्कालिन नेकपाबाट २०७४ को चुनावमा २४ हजार ८७३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। कांग्रेसका रामजनम चौधरीले २० हजार ४७३ मत प्राप्त गरेका थिए । रामजमा अहिले कैलाली क्षेत्र नं. १ बाट उम्मेदवारी छन ।
उक्त निर्बाचन क्षेत्रमा २०७० र २०७४ मा लगातार माओवादी केन्द्रबाट गौरीशकर विजयी भएका थिए । चौधरी अहिले एमालेबाट उम्मेदवार बनेका छन् । गौरीशङ्करको प्रतिस्पर्धा आफ्नै पूर्व सहयात्री कृष्ण चौधरी ‘कुन्दन’ सँग हुनेभएको छ । कुन्दन २०६४ मा कैलाली क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए ।
पछिल्लो समय कुन्दन नयाँ शक्ति, जसपा हुँदै केही महिना अघिमात्रै माओवादीमा फर्किएका थिए । एक समयका माओवादी कमान्डरहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार एकले अर्कालाई हराउने दाबीसहित चुनावी घरदैलो अभियानमा गरिरहेका छन् ।
क्षेत्र नम्बर ३ मा २६ वटा वडा रहेको स्थानीय तहको निर्वाचनमा एमालेले ३, कांग्रेसले २०, जसपाले १ र उन्मुक्ति र माओवादीले एक–एक वडामा विजय प्राप्त गरेका थिए ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण चौधरी ‘कुन्दन’ र एमालेबाट गौरीशङ्कर चौधरी चुनावी मैदानमा भिडिरहेका बेला नयाँ पार्टीको रुपमा रहेको नागरिक उन्मुक्तिबाट गङ्गा चौधरी पनि चुनावी मोर्चामा होमिएका छन् ।
घोडाघोडी नगरपालिकाको पूरै क्षेत्र, भजनी नगरपालिकाको ७ वडा र कैलारी गाउँपालिकाका ७ वडा यस क्षेत्रमा पर्छ । स्थानीय तहमा घोडाघोडी प्रमुखमा नेकपा (एकीकृत समाजवादी) र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो ।
पछिल्लो समय कुन्दन नयाँ शक्ति, जसपा हुँदै केही महिना अघिमात्रै माओवादीमा फर्किएका थिए । एक समयका माओवादी कमान्डरहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
भजनीमा प्रमुख र उपप्रमुख दुबैमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका थिए । कैलाली गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो ।