कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । जिल्लाको भीमदत्त नगरपालिकामा सल्लाहकार, कर्मचारी नियुक्ति र कर्मचारी सरुवालगायतका कार्यमा आर्थिक अनियमितता गरेको नगरपालिकाका मेयर पदम बोगटीलाई आरोप लागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकासँग कर्मचारी र सल्लाहकार नियुक्त सम्बन्धि विवरण माग गरेको छ ।
शुक्रबार नगरपालिकालाई पत्राचार गर्दै स्वीकृत दरबन्दी विवरण, नगर कार्यपालिकाबाट नियुक्त गरिएका कर्मचारी विवरण, नियुक्ति प्रक्रिया, सेवासुविधा, नगरपालिकाभित्र कर्मचारी सरुवा सम्बन्धि कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयल माग गरेको हो ।
नगरपालिकाले मेयरको जनसम्पर्क सल्लाहकारमा गौराज लिम्बु, संचार विज्ञमा चक्रसिंह महता, न्यायीक समितिको सल्लाहकारमा टेकबहादुर कठायत, उपमेयर जोशीको प्रशासनिक सल्लाहकारमा सन्तोषी ऐरलाई नियुक्त गरेको छ । यसैगरी, मेयर बोगटीको नीजि सवारी चालक भएर काम गरिरहेका बसन्त विष्टसहित ३ जनालाई जेठ १० गते ज्यालादारीमा राखिएको थियो ।
मेयरको सहयोगीको रुपमा उत्तर कुँवर र उपमेयरको सहयोगीको रुपमा कमला साउँद ज्यालादारीमा काम गर्ने गरी नियुक्त भएका थिए। चालकमा नियुक्त भएका विष्टले जागिर छोडिसकेका छन् भने साउँद र विष्ट अहिले पनि कार्यरत छन्। नगरपालिकाले मेयरको सहजताका लागि नासु नरेन्द्रदेव भट्ट र उपमेयरको सहजताका लागि खरिदार लक्ष्मण भट्टलाई खटाएपनि मेयर र उपमेयरले ज्यालादारीमा काम गर्ने गरि सहयोगी नियुक्त गरेका थिए।
मेयरकै कार्यकक्षमा काम गर्ने पावर्ती सिंहलाई यसअघिकी उपमेयर शुशिला चन्द सिंहकै पालामा ज्यालादारीमा राखिएको थियो ।
![](https://dineshkhabar.com/sites/default/files/315500823_822030069128446_8843599332473164688_n.jpg)