काठमाडौं – सोमबार साँझ जब सभामुख कृष्णबहादुर महरा माथि बलात्कार आरोप सहित समाचार सार्वजनिक भयो, त्यसले सिंगो मुलुकलाई तरंगित तुल्यायो ।
समाचार सोसल मिडियामा मात्र भाइरल भएन, मूलधारको मिडियाका लागि पनि ’हट केक’ बन्यो । तर २४ घण्टा नबित्दै देखिएका घटनाक्रमले यो घटना त्यतिकै ’फिस्स’ हुने त होइन भन्ने संशय देखिएको छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । हाम्राकुरा अनलाइन सँगको भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफू माथि दुर्व्यवहार गर्दै आएको दाबी गरेकी थिइन् । तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी छन् र भनेकी छन – महरा उनको घरमा पुगेकै थिएनन् । रिसको झोंकमा उनले महरालाई आरोपित गरेकी हुन् ।
पछिल्लो पटक अर्को अनलाइनलाई दिएको भिडियो अन्तर्वार्तामा ’बाबुसमानको मान्छेले आफूलाई त्यसो गर्नै नसक्ने’ भन्दै महरालाई ’नियतबस फसाइएको’ दाबी गरेकी छन् ।
प्रश्नहरू उठेको छन् – पीडित भनिएकी महिलाले किन प्रहरीमा उजुरी गरिनन् ? २४ घण्टा नबित्दै उनले बयान किन फेरिन् ? उनकै आरोपका कारण पदबाट राजीनामा दिएका महराको भावी राजनीति के हुन्छ ? राजीनामा पत्रमा महराले किन शर्त राखे ? के उनकै शब्दमा ’छानबिन प्रक्रिया सकिएपछि’ पुनः पदबहाली हुने उनको मनशाय हो ? महराको राजीनामा नै यो घटनाको पटाक्षेप हो या फेरिएका बयान सँगै अरु कुरा पनि फेरिएलान् ?
घटनामा कसरी आयो नयाँ ट्विस्ट ?
राष्ट्रलाई तरंगित बनाएको यो घटनामा पीडित नभिएकी महिलाले २४ घण्टा नबित्दै बयान फेरेपछि दुई दिनदेखि अधिकांशको मथिंगल हल्लाएको घटनामा नयाँ ट्विस्ट आएको हो ।
बलात्कार आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिइसकेका छन् । तर पीडित भनिएकी महिलाले महरा निर्दोष रहेको दाबी गरेकी छन् । पछिल्लोपटक एक अनलाइनलाई दिएको अन्तर्वार्तामा पीडित भनिएकी महिलाले ’महरा आफ्नो घरमा आउँदै नआएको’ बताएर सबैलाई चकित बनाएकी हुन् ।
जबकि यिनै महिलाले सोमबार यससम्बन्धी समाचार ब्रेक गर्ने अनलाइन हाम्राकुरा सँग महराले आफूलाई बलात्कार तथा कुटपीट गरेको दाबी गरेकी थिइन् ।
२४ घण्टामै यू – टर्न
हाम्राकुराको १० मिनेट लामो भिडियोमा यी महिलाको अनुहार र परिचय लुकाउन खोजिएको थियो । पीडित महिलाले आफ्नो अनुहार नदेखाउन भिडियोमा अनुरोध नै गरेकी छन् र त्यही अनुसार उनको अनुहारमा ’ब्लर’ गरिएको थियो ।
तर नागरिक खबरको १६ मिनेट लामो भिडियोमा ती महिलाको परिचय लुकाइएको छैन । बरु अन्तर्वार्ताकारले ती महिलालाई सोध्छन तपाईँसँगको यो कुराकानी प्रशारण गर्दा हुन्छ ? रोशनी नाम भएकी ती महिलाले एकछिन सोचेर जवाफ दिन्छिन ’हुन्छ ।’
अघिल्लो दिनको भिडियोमा आफैंले भनेका धेरै कुरालाई उनले काटेकी छन् । जस्तो उनले अघिल्लो दिन भनेकी छन महराले रक्सीको नशामा आफूलाई बलात्कार गरे। त्यसपछि कुटपीट गरे । जुत्ताको तलुवा र फुटेको चस्मा देखाउँदै उनी त्यसलाई महराको भएको बताउँछिन् । तर दोस्रो दिनको भिडियोमा उनी जुत्ताको तलुवा र चस्मा आफ्नै श्रीमानको भएको दाबी गर्छिन् ।
अघिल्लो दिन महराबाट ’यतिसम्म होला भन्ने नचिताएको’ बताउने उनी मंगलबारको भिडियोमा महरा बाबुसमान रहेको र उनले यस्तो गर्नै नसक्ने बताउँछिन् । ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन’, उनले भनेकी छन, ’कोही पनि भ्रममा नपर्नु होला । मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’
अघिल्लो दिन प्रहरीलाई फोन गरेर घटनाबारे बताएपछि महरा आफ्नो कोठाबाट निस्केको बताउने उनी पछिल्लो भिडियोमा महरा आफ्नो कोठामा आउँदै नआएको र महरासँग लामो समय देखि आफ्नो भेट पनि नभएको बताउँछिन् ।
अघिल्लो दिनको भिडियोमा उनले यतिसम्म भनेकी छन प्रहरी आएर कोठाको अवस्था रेकर्ड गरेर गएको छ । तर बयान फेर्दै उनले आफ्नो निजी मामिलामा किन चासो भन्दै उल्टो समाचार ब्रेक गर्ने पत्रकारमाथि प्रश्न उठाएकी छन उनीहरू मेरो घरसम्म कसरी आए ? मलाई पहिलेदेखि नै फलो (पछ्याएका) गरेका थिए कि ?
सोमबार घटना सार्वजनिक भएपछि महराले ’समायोजनको रिस फेर्न निराधार आरोप लगाएको’ दाबी गरेका थिए । र, मंगलबार पीडित भनिएकी महिलाले फेरेको बयान पनि महराको दाबीसँग मिल्दो छ ।
के होला महराको राजीनामा ?
आफूमाथि बलात्कार आरोप लागेको समाचार बाहिरिए लगत्तै मिडियामा ’कर्मचारी समायोजनको असन्तुष्टिका कारण निराधार आरोप लगाइएको’ दाबी गरेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अन्ततः राजीनामा दिएका छन् ।
तर उनले उपसभामुख डा.शिवमाया तुम्बाहाङफे समक्ष दिएको राजीनामामा प्रयोग भएको भाषाले शंका उब्जाएको छ । उनले राजीनामा पत्रमा ’छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन् । छानबिन प्रक्रिया सकिएपछि आफूले ’क्लिन चिट’ पाउँछु भन्ने मनशाय उनको राजीनामा पत्रमा देखिन्छ ।
’हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि राजीनामा दिएको छु’, उनको राजीनामा पत्रमा भनिएको छ ।
नेपालको संविधानको धारा ९१ (६) को ख मा ’निजले राजीनामा दिएमा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुने’ उल्लेख छ । तर महराले राजीनामा पत्रमा संविधान वा कानुन उद्धृत गरेका छैनन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २२१ मा ’सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने’ उल्लेख छ । यसरी दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने र बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिने नियमावलीको व्यवस्था छ ।
सभामुख महराले छानबिनका लागि मार्गप्रशस्त गर्न पदबाट राजीनामा दिइसकेका छन्। तर उनीविरुद्ध यो समाचार तयार पार्दासम्म उजुरी परेको छैन । उल्टो यो घटना मिडिया खपतको विषयमात्र बनेको छ । पीडित भनिएकी महिलाले मिडिया मार्फत् नै बयान फेरेकी छन् ।
महराले ’अनुसन्धान गर्न सहज होस’ भनी राजीनामा दिइसकेको अवस्थामा अब यो घटनाको छानबिन अघि बढ्ला वा यत्तिकै यो घटना सामसुम होला ? उजुरी नपरेका कारण महरालाई पक्राउ गर्ने आधार नबनेको बुझाइ अहिले सम्म प्रहरीको देखिन्छ ।
आरोप लगाउने महिला प्रहरीमा उजुरी दिन नपुगेपछि प्रहरी अन्योलमा छ । तर उजुरी नपरेका कारण महरालाई पक्राउ गर्ने आधार नबनेको बुझाइ प्रहरीको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसी उत्तम सुवेदीले पीडित भनिएकी महिलाबाट कुनै उजुरी नआएको बताए । उनले भने, ‘कसैले उजुरी नगरेपछि प्रहरीले एक्सन लिन मिल्दैन । उजुरी आएमा कानुनी कारबाही गर्न हामीले आदेश कुर्नु पर्दैन ।’ अन्नपूर्ण पोष्ट