झलारी - कञ्चनपुरको -२ निर्वाचन क्षेत्रका एमाले उम्मेदवार नरबहादुर धामी चुनावी प्रचारप्रसारका लागि आयोजना भइरहेका टोल भेलामा उपलब्धि सुनाउन थालेका छन् ।
धामीले विभिन्न वडा, टोलमा हुने कोषसभामा आफूले गरेका काम र विकासको उपलब्धि सुनाइरहेका छन् । बिहीवार दिउँसो शुक्लाफाँटा नगरपालिका–८ भमरभोजमा आयोजित सभालाई सम्बोधन गर्दै धामीले कोरोना महामारीको प्रतिकूलताका बाबजुद आफूले विकासको थालनी गरेको बताए ।
शुक्लाफाँटा बहुप्राबिधिक शिक्षालय सञ्चालनमा ल्याउँदा गरीबका छोराछोरीले सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न पाइरहेका उनले बताए ।
‘गरीबका छोराछोरी पनि इन्जिनीयर बन्न पाइरहेका छन्,’ उनले भने, ‘इन्जिनीयर बनेपछि महिनाको हजारौं–लाखौं कमाइ गर्न सकिन्छ । विदेशमा गएर रोजगारी गर्दा पनि सम्मान र पैसा दुवै पाइन्छ ।’
प्राविधिक शिक्षालयमा चिकित्सा क्षेत्रका विषयहरू नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन थप गरेर युवा जनशक्तिलाई दक्ष बनाइने उनले बताए ।
महाकाली सिँचाइ तेस्रो चरणको नहरलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर तीव्रगतिमा निर्माण अगाडि बढाइएको उनले बताए ।
‘यसै क्षेत्रका सांसद मन्त्री हुँदा समेत महाकाली सिँचाइको काम कछुवा गतिमा भइरहेको थियो, मैले जितेपछि राष्ट्रिय गौरवको आयोजनामा राख्न लगाएँ र छिटोछिटो काम भयो,’ धामीले भने ।
सडक कालोपत्रे गर्ने, पुलपुलेसा बनाउने काम समेत गरिएको उनले बताए । कोरोनाका कारण एमाले सरकारले ३ वर्ष पनि राम्रोसँग काम गर्न नपाएको उनले बताए ।
वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउन खोज्दा परमादेशबाट सरकारलाई हटाइएकाले अब निर्वाचित भएपछि वृद्धभत्ता ५ हजार पुर्याइने धामीले बताए ।
यसै क्षेत्रबाट ६ पटक चुनाव लडेका व्यक्तिले के काम गरे भन्दै उनले नेपाली कांग्रेसका उम्मेदवार एनपी साउँदलाई प्रश्न गरेका छन् । गाउँगाउँमा कालोपत्रे सडक आफू निर्वाचित भएपछि मात्रै पुगेको उनले बताए । प्राविधिक शिक्षालय खोल्न, स्कूलमा भौतिक पूर्वाधार बनाउन, सडक र स्वास्थ्य चौकीमा पूर्वाधार थप गर्न पनि आफू नै निर्वाचित हुनुपरेको उनले दाबी गरेका छन् ।
यसैगरी प्रदेशसभा सदस्यका उम्मेदवार वचनबहादुर सिंहले आफू निर्वाचित भएपछि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताए । आफू निर्वाचित भएपछि जनताका तटबन्धनका समस्या लगायतलाई सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाए ।