डडेल्धुरा - सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल उग्रतारा 'देहिजाँत' मेला बुधबार लाग्दैछ । डडेल्धुराको अमरगढी नगरपालिका-८ मा लाग्ने उक्त मेलालाई स्थानीय भाषामा ‘देहीजाँत’ भनिछ ।।हरेक वर्ष कार्तिक शुक्लपक्ष पुर्णिमाको रात (रतेडी) र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।
जिल्ला सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्लपक्ष पुर्णिमाका दिन ठुलो मेला लाग्ने गरेको छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्ने गरेका छन्।देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
उग्रतारा भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा शुरु हुने अध्यक्ष साँकीले बताए।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । आफूले खान ल्याएको खिचडीले टालेर रगत रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ ।
बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका ५ बजे पछि पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ।
मेलामा हराउँदै गएका अन्नबाली फापर, टिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यू, सुन्तला, मौसमी केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको मेलामा राम्रो व्यापार हुन्छ ।