धनगढी -गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर धनगढी आइपुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। धनगढीस्थित आफ्नै निजी निवासमा बोलाएर देउवाले जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट र छलफल गरिरहेका छन्।
उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निवासमै बोलाएर उनले छलफल गरिरहेका कैलाली कांग्रेसका सचिव नृप सुनारले जानकारी दिए। अगुवा नेता, कार्यकर्तासँग प्रधानमन्त्री देउवाले यहाँको चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका बताइएको छ।
धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा (ख) बाट सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन्। क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
०७० सालमा भएको उपनिर्वाचनमा यहाँ कांग्रेसबाट ओझा विजयी भएका थिए। ०७४ को चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा उनलाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो।
कांग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले असन्तुष्ट नेता, कार्यकर्तालाई मनाउने कोसिस गरिरहेका छन्। नेकपा एमालेबाट यहाँ प्रतिनिधिसभा सदस्यमा नारदमुनि राना उम्मेदवार छन्। २०७४ को निर्वाचनमा रानाले आरजुलाई हराएका थिए।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनेछन्। उनका अनुसार प्रधानमन्त्री देउवा बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न यहीँबाट जानेछन्।
दार्चुला र बैतडीमा हुने गठबन्धनका संयुक्त चुनावी सभालाई सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन् ।