कञ्चनपुर - एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलक्षित उत्तेजित भाषण गरेको जनाएका छन्।
कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट ’भीम रावल, भीम रावल’ नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए।
अध्यक्ष ओलीले भने , ‘भीम रावलको तपाईंलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बुढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’ भन्दै रावलमाथि खनिएका थिए ।
नेता रावलले ओलीको भाषणले उनीभित्र बलिरहेको क्रोध बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाङ्ग भएको बताएका छन् ।
उनले भने, 'मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ को लागि मुख किन वाउनु भएको त ?
म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटी सकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ? ,नेता रावलले भने ।