डडेल्धुरा - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहिबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् । बुधबार कैलालीको धनगढी पुगेका उनी बिहिबार दिउँसो साढे १२ बजे डडेल्धुराको अमरगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान लागेका हुन् ।
प्रधानमन्त्री गृहजिल्ला आउने भएपछि डडेल्धुराको सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहानैदेखि ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
देउवा चार दिन डडेल्धुरामा रहनेछन् । उनको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् ।
कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् ।देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनी कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ । देउवालाई चुनावी प्रचारमा हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगले अनुमति दिइसकेको छ ।
प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासँग, नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्रमा लालबहादुर खडायत, कर्णसिंह रावल र सागर ढकाल उम्मेदवारहरु चुनावी मैदानमा छन् ।