कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार उनले आचारसंहिता विपरीत २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोधिएको बताएको छ ।
उनले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेको आयोगले व्यक्त गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीयप्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ प्रस्ट परेको छ ।
सोही दफाको खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने’ व्यवस्था छ ।
‘उल्लेखित सन्दर्भमा तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ ?,’ आयोगले मगरलाई सोधेको छ ।