कञ्चनपुर- कञ्चनपुरले नेपाली कांग्रेसे बागी उम्मेदवारी दिने १५ नेता–कार्यकर्तालाई कारबाही गरेको छ ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका, उम्मेदवारका सर्मथक र प्रस्तावकलाई कारबाही गरेको हो ।
कांग्रेस कञ्चनपुरका अनुशासन समितिका संयोजक नाफूसिह साउँदले एक विज्ञप्ति जारी गर्दै २६ असोजको विस्तृत बैठकको निर्णयअनुसार पार्टीका आधिकारिक उम्मेदवार र नेपाली कांग्रेसले सर्मथन गरेका लोकतान्त्रिक–वामगठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार र सर्मथक, प्रस्तावकलाई कारबाही गरेको बताए ।
साउँदका अनुसार नेपाली कांग्रेसको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी उनीहरुलाई कारबाही गरेको हो ।
पार्टीबाट निष्काशित हुनेमा दिपक बहादुर सिंह, शारदा चन्द, गिरी राज पाण्डेय, नारायण बोहरा, वीरबहादुर बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, दुर्गादत्त पाण्डेय, मदन दमाई, धनबहादुर शाही, पिताम्बर जोशी, खेम चौधरी, मोतिराम राना, सञ्जितसिंह राना र जगत सायर रहेका छन् ।