काठमाडौं - आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व सोमबार समापन गरिएको छ । कार्तिक शुक्ल षष्ठी तिथिको साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको हो ।
मिथिलाञ्चल क्षेत्रको विशिष्ट पर्व छठको व्रतविधि कार्तिक शुक्ल चतुर्थीमा शुरु हुन्छ र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुन्छ।
उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतालुले यो व्रत सुरु गर्छन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्छन्।
षष्ठीमा व्रतालुले दिनभर निराहार व्रत गर्छन्। साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्।
उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डौको गुह्येश्वरी, कमलपोखरीलगायत तराई मधेसका ऐतिहासिक गङ्गा सागर, पोखरी तथा नदी तलाउमा तलाउमा बर्तालुहरुको घुइँचो लागेको थियो । झकिझकाउ बनाएर सिँगारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका छन्। यसैबीच कैलालीको मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको घुइँचो लागेको छ। मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन गरी रातभर जाग्राम बसेका थिए । भजन कीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ ।
षष्ठीका दिन निराहार व्रत गरी बेलुकी अस्ताउँदो र सप्तमीको बिहान सूर्यको पूजा–आराधना गरी अर्घ्य दिँदा दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ।