दार्चुला- दार्चुलामा बालकको मृत्यु प्रकरण भारतीय पक्षले गल्ती स्वीकार गरेको छ । शुक्रबार जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने बेला एक बालकको मृत्यु भएको थियो ।
उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए ।
उनले भने, ‘आज (शनिबार) भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ। कम्पनीले गल्ती स्वीकार गरेको छ। निर्माण कम्पनीले क्षतिपूर्ति दिन तयार छौं भनेको छ, ।
अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले गल्ती परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको हो । तर, नीजि कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।
गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन बिस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो ।
उनीहरुले अन्तराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन् । भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा व्यास गाउँपालिका २ दुम्लिङका १२ वर्षीय पवन महराको मृत्यु भएको थियो ।
यस्तै १४ वर्षीया सरिना महरा घाइते भएकी थिइन् । अहिले उनको जिल्ला अस्पतालमा उपचार भईरहेको जनाएको छ ।