टीकापुर - कैलालीको टीकापुर नगरपालिका २ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा रहेका थिए। हतारमा घरबाट निस्किएका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुर्यो। डुङ्गा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन्।
‘भाइटीका दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ। एक घण्टाभन्दा बढी समयसम्म डुङ्गाको पालो पर्खिन लाग्यो।’ उनी भन्छन्, “नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला।” एउटै डुङ्गामा सयौँलाई वारपार गराउनुपर्दा र यात्रुले पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन्। डुङ्गालाई एकपटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो।
बर्दियाको पाताभारबाट टीकापुर आएका अनिश थारू पनि डुङ्गाको पालो पर्खेर बसेका थिए। निकै छट्पटी देखिएका उनी निकै हतारमा रहेका थिए भन्ने कुराको भाव बाहिरै छल्किन्थ्यो। “तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ”, अनिश भन्छन्, “निकै ढिलो भयो। डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन। घरमा दिदीबहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन्। कतिबेला पुगिन्छ थाहा छैन।”
कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतार थियो। हतारमा सन्कट्टी पुगेका उनलाई कर्णाली नदी पार गर्न एक घण्टाभन्दा बढी लाग्यो। घरमा भएका दिदी बहिनीसँग टीका लगाएर बर्दियामा रहेकी दिदीको हातबाट टीका लगाउनका लागि शान्तिबजार जान लागेका उनलाई डुङ्गामा सवार गर्ने नागरिकको भीडले समयमै गन्तव्यमा पुग्न पाएनन्।
“राजापुरबाट जाँदा एक घण्टा ढिलो हुने भएकाले यताबाट आएको हुँ। सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ”, धामी भन्छन्, “मानिसको निकै चाप छ, त्यसैमा पनि सवारीसाधनले भरिएको डुङ्गामा यात्रा गर्दा पारि पुग्न पाइन्छ कि पाइँदैन भन्ने ठूलो डर।” चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकको निकै भीड लाग्ने गरेको छ। एकपटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुङ्गामा त्यहीँ मात्रामा सवारीसाधन पनि भरिएका हुन्छन्।