अत्तरिया – बसपार्कमा २ ओटा भ्यानमा आएका प्रहरीले एक्कासी आ– आफ्नो गन्तव्यमा हिड्न लागेका सवारी साधन रोके । सवारी चालक के भयो किन यति ठुलो संख्यामा आएका प्रहरीले रोके भनेर कानेखुसि गर्न लागे । प्रहरीले सबै चालहहरुलाई एक ठाउँमा भेला हुन भने । त्यसपछि सवारी चालकहरुमा झन खुल्दुली भयो । लगतै प्रहरीको माईकबाट आवाज आयो ‘सवारी चालक भनेका सवारी साधनका भगवान हुन’ हामी तपाईलाई सम्मान गर्दैछौ । सवारी चालक दङ्ग परे ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया बसपार्कमा सवारी चालकहरुलाई सम्मान गरेपछि चालक दङ्ग परेका हुन । सम्मानित भएका सवारी चालक गणेश बहादुर कार्कीले आफू पहिलो पटक यसरी प्रहरीबाट सम्मानीत भएको बताए । उनले प्रहरी आउँदा के के सोधपुछ गर्ने हुन भन्ने मनमा सोच आउँने गर्दथ्यो तर आज प्रहरीलेबाट नै सम्मानीत हुन पाउँदा खुसी लागेको बताए ।
धनगढी देखि बझाङ सम्म जाने बस चलाउने सवारी चालक रोशन चन्दले आफूलाई सम्मानीत हुँदा आफ्नो पेसाको सम्मान भएको महसुस गरेको बताए । उनले आफ्नो काममा मनोबल बढेको र काम प्रति अझै जिम्मेबार भएको महसुस भएको बताए ।

१० जना सवारी चालक सम्मानीत
सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सुरक्षित यात्राको शुभकामना कार्यक्रममा १० जना प्रहरीलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त आयोजनामा भएको सम्मान कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्ट र गोदावरी नगरपालिकाका प्रवक्ता शार्मानन्द भट्टले सम्मान गरेका हुन ।
चालक सम्मानित कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले सबैले सजक भएर सुरक्षीत यात्रा गर्नु पर्ने बताएका छन । उनले प्रहरी एक्लैको प्रयासबाट मात्रै दुर्घटना न्युनिकरण गर्न नसकिने भएकाले सबै सजक हुनु पर्ने बताए । कार्यक्रममा गोदावरी नगरपालिका प्रवक्ता शार्मानन्द भट्टले चाडपर्वका समयमा सवारी साधनको बढी चाप हुने भएकाले सजक भएर सवारीसाधन चलाउन चालकलाई अनुरोध गरे । उनले यात्रुहरुलाई पनि सजकताका साथ यात्रा गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरिक्षक मोहन बहादुर साउँदले सवारी साधनमा सवारी चालक र यात्रु दुवै सजक हुनुपर्ने बताए । उनले सवारी साधनमा क्षमता भन्दा बढी तथा छतमा यात्रु नराख्ने , मादक पदार्थ सेवन गरी सवारी नचलाउने, सवारी साधन चलाउँदा मोबाईल फोनको प्रयोग नगर्ने लगायतमा ट्राफिक नियम पालना गर्नु पर्ने बताए ।
यात्रुहरुले पनि लामो दुरीका सवारी साधनमा २ जना चालक छन वा छैनन् चेक गर्ने , सवारी साधनबाट झर्नु भन्दा पहिले दाया बाँया हेर्ने लगायतका कुरामा ध्यान दिन आवश्यक रहेको प्रहरी निरिक्षक साउँदले बताए ।
कार्यक्रममा प्रहरीले सवारी चालक र यात्रुले ध्यान दिनु पर्ने कुरा लेखिएको पम्पलेट समेत वितरण गरेका थिए ।