टिकापुर- हिन्दुहरुको दोस्रो महान् पर्व तिहार यति बेला हिन्दु नेपालीहरुको घर आँगनमा छाएको छ । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो ।
तिहार शुरु भएसँगै टोलटोलमा बालबालिकादेखि बुढापाकाका समुहरुले देउसी र भैलो खेलिरहेका छन् । देउसी भौलो खेलेर हाम्रो सरम्परामा चामल, भेडी (रकम) फलफुल, तिहारमा घरमा पकाएका मिठा मिठा पकावान दिने प्रचलन रहिआएकको छ । तिहारमा खेलिने देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ ।
त्यस्तै कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ । टीकापुरमा निर्माणाधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न थालेका छन् । “हामी आफैँ मिलेर मन्दिर निर्माण गरिरहेका छौँ ।
मन्दिर निर्माणमा सहयोग हुनुका साथै पर्व र संस्कृतिको समेत जगेर्ना हुन्छ ।” मन्दिर निर्माण समितिका सचिव रत्नप्रसाद पोख्रेलले भने, “देउसी भैलोमा बच्चादेखि वृद्धसम्म सहभागी छौँ । उठेको सबै रकम मन्दिर निर्माणमा खर्च गर्छौँ ।”
टीकापुरका नरेश जैसीको समूहले पनि देउसी भैलो खेलिरहेको छ । उनीहरु पनि टोलमा प्रतीक्षालय बनाउनका लागि भैलो खेल्न थालेको बताए । “टोलमा बर पिपलका रुख छन्, गर्मीमा शीतल हुन्छ, टोलमा सल्लाह ग¥यौँ”, नरेशले भने, “सबैले देउसी भैलो खेलौँ, उठेको रकमले बनाउला भन्यौँ, टोलमै खेलिरहेका छौँ, प्रतीक्षालय बनाउने भनेपछि छिमेकीले पनि दिल खोलेर दान गरिरहेका छन् ।”
खप्तड सांस्कृतिक परिवारका पूर्वअध्यक्ष नवराज रिमाल समाजले हरेक वर्ष देउसी भैलो खेल्ने गरेको बताए । “हामी हरेक वर्ष खेल्छौँ, यसरी खेलेर सङ्कलन भएको रकम संस्थाको विकास र सांस्कृतिक विकासमा खर्च गर्ने गरेका छौँ” । उनले भने “हामी वनभोज खानका लागि कहिल्यै खेल्दैनौँ, सधैँ रकमको सदुपयोग गर्छौँ ।” रिमाल पर्वले पनि समाजमा सभ्यता र संस्कृति सिकाउनुका साथै विकास भित्र्याउनुपर्नेमा जोड दिनुहुन्छ ।
समूह बनाएर खेलिने देउसी भैलोबाट सङ्कलित रकम कतिपय समूहले सामाजिक कार्यमा लगाउँछन्, भने कतिपयले खानपान गर्ने, कतिपयले रकम बाँडफाँट गर्ने चलन छ । जानकी गाउँपालिकाका बिर्ख कुँवरको समूहले देउसीभैलो खेलेर समूहका लागि आवश्यक भाँडाकुँडा खरिद गरेको छ । “विगत दुई वर्ष खेल्यौँ, त्यसबाट उठेको रकमले समूहका लागि आवश्यक भाडाकुँडा किन्यौँ, ती भाँडाकुँडा समुहका सदस्यका घरमा भोजभतेर हुँदा न्यूनतम भाडामा दिन्छौँ”, उनले भने, “भाडामा दिँदा समूहलाई आम्दानी हुन्छ । आम्दानी समूहका सबै सदस्यलाई भाग पर्छ ।” कुँवरको सिर्जना वचत समूहमा मासिक वचतसमेत गर्ने गरिएको छ ।
जानकी गाउँपालिकाका रतन परियार र उहाँका साथीहरु समेत मिलेर देउसी भैलो खेल्दैछन् । उनीहरुको यसरी सङ्कलित रकम खर्च गरेर वनभोज खाने योजना छ । “अपुग रकम थपेर नयाँ ठाउँ घुम्ने योजना छ । यसबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ”। उनले, “पर्वमा नाचगान गर्दा रमाइलो पनि हुन्छ, अनि पछि घुम्न पनि पाइयो ।” सनातन संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना तिहार धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने पर्वको भएकाले यसको विशिष्ट महत्व रहेको बताए । “काग तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोवद्र्धन पूजा हुँदै भाइटीका गरी मनाइन यस पर्वले नेपालको सांस्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धलाई थप मजबुत बनाउँछ”, उनले भने, “तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा लिइन्छ । तिहारमा सबै जम्मा हुने र देउसी भैलो खेल्ने परम्परा छ । यसले सामाजिक र सांस्कृतिक पाटो बलियो बनाउँछ ।” प्रतिष्ठानका अध्यक्ष तिमिल्सिना देउसी भैलोमा देखिएको विकृति रोक्न आवश्यक रहेकामा जोड दिए । रासस