अत्तरिया – सामान्य बर्षामा पनि बस्ती डुवानमा पर्न थालेपछि भरतपुरबासी हैरान बनेका छन । कैलालीको गोदावरी नगरपालिका १ भरतपुर टोलमा बर्षायाममा स्थानीयहरुका घरभित्र पानी पस्ने गरेको छ भने हिडडुल गर्न समेत समस्या हुँदै आएको छ ।
सडकको दुबैतर्फ घरहरु निर्माण गरिएका छन तर सडक छेउमा उचित नालाको व्यवस्था नहँुदा बिच सडकमा पानी जम्मा भई हिडडुल गर्न समेत समस्या भएको हो ।
समस्या समाधानका लागि आफूहरुले पटक पटक सम्बन्धित निकाएमा खबर गर्दा समेत कुनै वास्ता नभएको स्थानियले गुनासो गरेका छन । स्थानिय विवेक भट्टले बर्षायामा घर अगाडी नालामा पानीको निकास नहुँदा बाटो डुवानमा पर्ने गरेको बताए ।
विगतका बर्षमा घरभित्र पानी पस्ने गरेको थियो । स्थानिय बसन्ती पाण्डेले भनीन – ‘तर यसपटक भने घर वरिपरी पर्खाल लगाए पछि घर केहि सुरक्षित भएको छ । बढी पानी आयो भने समस्या उस्तै हुन्छ ।’ उनले नालि निर्माण गरिदिन पहल गरेपनी जनप्रतिनिधिहरुले कुनै सुनुवाई नगरेको आरोप लगाईन ।
चुनावको समयमा यहाँको ढल व्यवस्थापन पनी मुख्य एजेन्डा बनाई जनताका लागि काम गर्छु भनी भोट मागेका जनप्रतिनिधिले काम प्रति उदासिनता देखाएकोप्रति स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन । वडाका प्रत्येक टोल टोलमा पानी पिच पुगेको भएपनि ढल निकाशका लागि नालि नहुँदा बर्षेनि स्थानियहरु डुवानको समस्यामा परिरहेका छन । केहि वडामा सडक कालोपत्रे समेत गरिएको भएपनि सडक छेउमा बनाइने नालि भने निर्माण गरिएको छैन ।
गोदावरी नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्टले भरतपुर टोलको नालाको समस्या तत्काल सामाधान गर्न कठिन रहेको बताए । उनले यस क्षेत्रको भौगोलिक बनोटका कारण नाला निर्माण गर्न समस्या भएको बताए । ‘बस्ती गहिरो ठाउँमा रहेका कारण पानी निकास गर्न समस्या भएको छ ।’ वडा अध्यक्ष भट्टले भने – ‘नगरापालिकको प्रबिधिकको टोलीले सो क्षेत्रमा केहि दिन अगाडी मात्रै अनुगमन गरिसकेकाले दशै तिहार पछि निर्माण कार्य अगाडी बढाईने छ ।’
उनले तत्काललाई नाला खन्दा जावत जावत गर्न झनै मुस्किल पर्ने भएकाले दशै तिहार पछि समस्याको समाधान गरिने बताए ।
गोदावरी नगरपालिकाले नाला निर्माण र ढल व्यवस्थापनमा चासो नदिएको स्थानीयले आरोप लगाउने गरेका छन ।
नगरपालिकाले बजार क्षेत्र र आसपासमा ढल व्यवस्थापन र नाला निर्माणमा आवश्यक पहल नचाल्दा स्थानियहरु बर्षेनी डुवानको समस्यामा पर्ने गरेका हुन ।