अत्तरीया- वढ्दो प्रविधिको विकासले गर्दा सुदुरपश्चिममा मैलिक परम्परा हराउदैं गएको छ । परम्परागत मैलीक गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता सुदुरपश्चिममा हराउँदै गएको पाइन्छ ।
तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, मिजरा र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन् ।
यमपञ्चक सुरु भएपछि कैलालीको गोदावरी नगरपालीकामा विभिन्न स्थानमा, अत्तरीया बजारमा देउसी, भैलो खेल्नेको भिड लागेको छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिएको छैन् ।
अत्तरीयाका स्थानिय ४१ वर्षिय योगेश बोहराले हाम्रो सुदुरपश्चिममा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उनले भने, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र मिजरा आफ्नै भाकामा गित गाएर नाजेकोे देउसी भैलो खेलेको अब कहाँ हेर्न पाईन्छ र ”आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराउदै गएको उनले बताए । “हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरु लोप भइरहेका छन् । ” उनले भने ।
त्यस्तै गोदावरी ६ का अर्का स्थानिय गणेश कुवरले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताए ।
उनले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिए । देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताए । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
“प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो । कुवरले भने , “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।”
मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने अत्तरीयाका अर्का स्थानिय सुरेन्द्र प्रसाद वडुले बताए । उनले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताएका छन्,। उनले बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताएको छन् ।