काठमाडौं- नेपाल टेलिकमले असोज १५ गतेदेखि देशभरका २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको छ। टेलिकमले फोरजी सेवाको आफ्नो पहिलो परियोजना अन्तर्गत १५ असोजदेखि सो सेवा उपलब्ध गराउन लागेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।
उनका अनुसार टेलिकमले देशभरका मुख्य शहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउनेछ।
यसका साथै साना शहरहरु अन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने प्रवक्ता वैद्यको भनाइ छ।
यस्तै उनले पहिलो चरणमा ती सहरमा फोरजी सेवा सुरु भइरँदा थप नयाँ ठाउँमा समेत फोरजीको परीक्षण सेवा भने कायमै रहनेछ।यसअघि नेपाल टेलिकमले गत माघ २० गते देशैभर फोरजी विस्तार गर्ने परियोजनाका लागि अन्तिम सम्झौता गरेको थियो।
उक्त सम्झौतामा एक वर्षभित्रमा लक्ष्य अनुसार फोरजी विस्तार गर्ने उल्लेख थियो जसका लागि टेलिकमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ।
२०७३ साल पुस १७ गते फोरजी सेवा सुरु गरेको टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा गरी १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थतामार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ। यी दुईवटा सहरमा गरी हालसम्म फोरजीका ग्राहक ८ लाख पुगिसकेका छन्।