कर्णाली - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् ।
पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आइतबार वीरेन्द्रनगर सुर्खेतमा आइपुगेका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समयसम्म रहने दाबी गरे ।
प्रधानमन्त्री देउवाले भने , “संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको हो । यसको जीतका लागि सबै मिल्नुको विकल्प छैन । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु ।” उनले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न प्रदेशका नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।
सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनमा कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताए। कर्णालीबाट नै प्रतिगमनविरुद्धको विद्रोह भएको उनको भनाइ थियो ।प्रचण्डले कर्णालीका धेरैभन्दा धेरै सिट गठबन्धनले जित्ने बताए।
“प्रतिगमनविरुद्ध यो गठबन्धन जन्मेको हो । यसलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन”, उनले भने , “यसले संविधान, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ । त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो ।”
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले समाजवादको यात्रालाई अगाडि बढाउन गठबन्धन जरुरी रहेको जनाए । जनतालाई गरिबी, अशिक्षा र भोकमरीबाट मुक्त पार्न गठबन्धनको जीतले मात्र सुनिश्चित गर्छ”, उनले भने , “तसर्थ देश र समाज परिवर्तन, जनताको जीवनस्तर उकास्न, देशको स्वाभिमान माथि उठाउन गठबन्धन गरिएको हो ।”