अत्तरिया - आइतबार कागतिहार सुरु भएसँगै नेपालीहरुको दोस्रो महान चाड दीपावली सुरु भएको छ। सनातन हिन्दू समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ।
तिहार सुरु भएसँगै कैलालीको अत्तरिया बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ। सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार अत्तरिया बजारमा सामान खरिद गर्ने उपभोक्ताहरुको भिड देखिएको हो।अत्तरिया बजार क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ।
प्लास्टिकका माला,मखमली र सयपत्री फूलले अत्तरियाको बजार ढाकिएका देख्न सकिन्छ। बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ।
तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन्। विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु अत्तरियामा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भिड भएको हो।
लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ। त्यस्तै, भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ।