काडमान्डौं- केपी शर्मा ओली नेकपा एमालेका अध्यक्षले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र ? व्यक्त गरेका छन् ।
आज अथार्त शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरण समेत दिएका छन् ।
आवश्यकताभन्दा बढी अवसर पाएकाहरु फेरि पनि अवसरको पछि कुदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनेका छन । उनले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने दावी गरेका छन् ।
उनले भने, ‘केही बुझेर केही नबुझेर पनि फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन् । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिक मन्त्री, सञ्चारमन्त्री, पर्यटन मन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री। नखाएको कुनै मन्त्रालय छैन।
यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ। अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र? काम कस्तो गरेको छ, त्यो नभनौँ। पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन। पार्टीको हितमा एक शब्द बोलेको होइन।’
अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे ।
उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि सार्नै सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहो¥याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मंसिर ४ गतेको निर्वाचन सार्थक हुने दावी गरका छन् ।