कैलाली- कैलालीको लम्कीचुहामा एक वडाले ११ स्वयंसेविकालाई साइकल वितरण गरेको छ । लम्कीचुहा नगरपालीका १ को कार्यालयले आफ्नो वडाअन्तर्गतका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
लम्कीचुहा नगरपालिकाका १ का वडाध्यक्ष नेत्रप्रसाद खनालका अनुसार स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उनीहरूको सम्मानस्वरूप साइकल वितरण गरिएकोे बताए ।
गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड–१९ को महामारी र हाल डेङ्गु नियन्त्रणको लागि गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुने उनले बताए ।
लम्कीचुहा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारीले स्वास्थ्यका आधारस्तम्भ भनेको नै महिला स्वास्थ्य स्वयंसेविका भएको बताएका छन् ।
मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका नेपालमा महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको उनको व्यक्त गरेका छन् ।
वडा नम्बर १ अन्तर्गतका ११ स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बजेटबाट रु एक लाख २६ हजार बराबरको साइकल खरिद गरी वितरण गरेको वडा अध्यक्षले बताएको छ ।
साइकल उपलब्ध भएपछी स्वास्थ्य स्वयंसेविकाको संयोजक पार्वती बजगाईले वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्दे आगामी दिनहरुमा आफूहरूको उत्साहा बढाउने कार्यक्रम गर्न आग्रह गरीन् ।
दश वटा वडा रहेको उक्त नगरपालिकामा ९१ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।