कञ्चनपुर- निर्वाचन क्षेत्र नम्बर २ मा २०७४ कै दुई उम्मेदवार प्रतिस्पर्धा मा छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउँद र नेकपा एमालेका नेता नरबहादुर धामीबीच प्रतिस्पर्धा हुने भएको हो।
२०७४ मा नेकपा माओवादी केन्द्रको समर्थनमा एमालेका धामी ३३ हजार २२० मतसहित विजयी भएका थिए। कांग्रेसका साउँदले त्यसबेला २४ हजार ८९३ मत ल्याएका थिए।
अहिले भने राजनिती फेरिएको छ । माओबादी को साथ साउँदलाई हुने भएको छ। नेकपा एमालेबाट छुट्टिएको समाजबादीको पनि साथ साउँदलाई नै हुनेछ ।
सोझो राजनितिक समिकरणमा साउँदको पल्ला भारी नै छ। अहिले उक्त क्षेत्रमा दुबै उम्मेदवारले घर दैलो गरीरहेका छन । सोही क्षेत्रमा गठबन्धनबाट प्रदेश सभा (१) मा माओवादीका ओमविक्रम भाट (सरल) र प्रदेश सभा (२) मा संविधानसभा सदस्य कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन्।
यस्तै, नेकपा एमालेले प्रदेश सभा क्षेत्र नम्बर २(१) मा युवा संघका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र प्रदेश सभा २(२) मा संविधानसभा सदस्य कृपाराम रानालाई उतारको छ। प्रदेश सभाका उम्मेदवार भाटले गठबन्धनका सबै उम्मेदवारले जित्ने दाबी गरे । उनले भने-'यो क्षेत्रमा कांग्रेस माओबादीको मत राम्रै हो अब अहिले गठबन्धन नै हुँदा त झनै राम्रो देखिएको छ।'
छैटौँ पटक संसदीय चुनावमा उठेका साउद २०६४ र ०७४ को निर्बाचनमा पराजित भएका थिए । एमालेका उम्मेदवार धामी पनि बिधार्थी राजनितीबाट नै आएका हुन । उनको पनि सो क्षेत्रमा बलियो पकड नै छ । धामी कञ्चनपुरमा तेस्रो पटक संसदीय चुनाव लड्दैछन्। तर अहिले टिकटमा असन्तुष्टि जनाउँदै क्षेत्र नम्बर २ का कतिपय एमालेका नेताहरुले पार्टी नै छोडेका छन्।
प्रदेश सभा १ (१) मा टिकट नपाएपछि एमालेबाट विद्रोह गर्दै टेकबहादुर हमालले बागी उम्मेदवारी दिएका छन्।क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन बलियो देखिन्छ।
यो क्षेत्रमा बेदकोट नगरपालिका (८ नम्बरबाहेक), शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्। यहाँ कांग्रेस र माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धनसँग करिब ३० हजार मत छ।
क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवार एक्लैले कूल २४ हजार ६७६ मत बटुलेका छन्। एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीसँग पनि १० हजार हाराहारी मत छ।
३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ।कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७, शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ।
माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ। एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ।