पोखरा - सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने संयुक्त चुनावीसभा आज सुरु हुँदैछ ।
गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलबाट संयुक्त चुनावीसभा सुरु हुन लागेको हो । गठबन्धका साझा उम्मदवारलाई विजयी गराउन एवं चुनावी एजेण्डाबारे कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी, र राष्ट्रिय जनमोर्चाले संयुक्त चुनावीसभाको आयोजना गरेका हुन् ।
जसपा बाहिरिएलगत्तै गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपा भने संयुक्त चुनावी सभामा सहभागी भएको छैन ।शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज पोखरा जाँदै छन् । प्रशिक्षणका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् ।
सातै प्रदेशमा हुने संयुक्त चुनावी सभालाई गठबन्धनदलका शीर्ष नेताहरुले सम्वोधन गर्ने बताईएको छ । सभामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारी लगायत नेता कार्यकर्ताको सहभागिता रहने गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि गठबन्धन दलले संविधान र लोकतन्त्रको रक्षाका लागि भन्दै संयुक्त चुनावी अपिल जारी गरिसकेका छन् । यस्तै गठबन्धनका दलहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति समेत गठन भएको छ ।
गण्डकी र लुम्बिनीमा आज, प्रदेश १ र मधेश प्रदेशमा भोली, यस्तै आगामी आईतबार कर्णाली र सुदुरपश्चिमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको तयारी छ । बाग्मती प्रदेशमा आगामी सोमबार संयुक्त चुनावी सभा गर्ने गठबन्धन दलले जनाएका छन् ।