अत्तरिया - दलित समुदायको बाहुल्य क्षेत्र कैलालीको गोदावरी नगरपालिका अन्तरगत पर्ने ओलानीमा पानी माथी भने गैर दलितले रजाई गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशको सवै भन्दा सुगम क्षेत्र मानिने कैलालीको सो क्षेत्रमा जातीय छुवाछुतले यसरी जरो गाडेको छ की, गैर दलित परिवारले नदिए दलित परिवारले पानी समेत खान पाउँदैनन् ।
दलित परिवार गैर दलित परिवारको तीन तिहाई बढी रहेको सो क्षेत्रमा पानीको निक्कै अभाव हुन गर्द छ । फाटफुट धारा तथा कुवा रहेको ओलानीमा ती धारमा तथा कुवामा भने गैर दलित समुदायको राज चल्छ । यती सम्म की गैर दलित समुदायले नदिए दलित परिवारले पानी समेत नपाउने गरेको पाइएको छ । गोदावरी–११ ओलानीकी पद्मा बिक ५० बर्षकी भइन् । सानै देखी ओलानीमा बस्दै आएकी उनी अझै जातीय छुवाछुतको चपेटामा रहेका बताउँछिन् । आफुलाई चेतना भएदेखी समाजमा जातीय छुवाछुत अनत्य भइसक्यो भन्ने सुने पनि व्यवहारमा भने त्यसो कहिल्यै नदेखेको बताइन् ।
‘ओलानी पानीको निक्कै समस्या हुने ठाउँ हो’ उनले भनिन्–‘गाउँमा बल्ल बल्ल एक दुई धारा उपलब्ध छन्, ती धारामा दलित परिवारले सहजै पानी भर्न भने पाउँदैनन् ।’ ‘दलित बाहुल्यता रहेको ओलानीमा गैर दलितले रजाई गर्ने गरेको उनको दुःखेसो छ । बाहुन क्षेत्री थोरै हुँदा दलित समुदाय भने बाहुन क्षेत्रीले पानी दिए मात्रै खान पाउने गरेको विकले बताइन् । उमेरले ५० बर्ष भइसकेकी उनले भनिन्–‘गैर दलित समुदायले पानी दिए हामीले प्रयोग गर्न पाउँछौं, नत्र समस्या नै हुने गरेको छ ।’ गाउँमा पानी दिने मानिस नभेटीए दुषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘चुनावका वेला नेता आएर घरघरमा धारा दिन्छौ पनि भनेका थिए’ उनले भनिन्–‘तर अहिले सम्म काम भने भएको छैन, नत नेता गाउँमा नै आएका छन् ।’
गोदावरी नगरपालिका वडा नम्बर–१० की डम्मरादेवी जयगढीले बुढापाकाका कारण जातीय छुवाछुतले निरन्तरता पाउँन थालेको बताइन् । बाहुन क्षेत्री समुदायका बुढापाका मात्र नभई दलित समुदायकै बुढापाकाले समेत छुवाछुतको परम्परालाई जगेर्ना गर्ने गरेको उनले बताइन् । उनले भनिन्–‘बाहुन क्षेत्री समुदायका बुढापाकाले मात्र नभई दलित समुदायकै बुढापाकाले समेत छुवाछुतलाई प्रोत्साहन दिने खालका गतिविधी गर्ने गरेका छन्, जसले नयाँ पिढीलाई समेत छुवाछुत गर्न सिकाएको छ ।’
गैर दलित समुदायका मानिसहरु पानी छुन पनि नदिने र घरको आसपास गए नराम्रो दृष्टिले हेर्ने गरेको उनले बताइन् । तर पहिलेको तुलनामा पछिल्लो समय युवा पिढीले भने छुवाछुतलाई खास्सै वास्ता नदिने गरेको उनले बताइन् । वडा नम्रब–११ की पार्वती बिकले जातीय छुवाछुत अर्झै पनि कायमै रहेको बताइन् । राजनीतिक गतिविधी गर्दा सवैले बिभेद नगर्ने प्रतिबद्धता गर्दछन तर व्यवहारमा त्यसलाई कसैले कार्यान्वयन नगरेको उनको गुनासो छ ।
‘सार्वजनिक स्थलमा भाषण गर्दा सवैले जातीय विभेद मुक्त समाज बनाउँछौं भन्दै भाषण गर्छन्’ उनले भनिन्–‘तर व्यवहार त्यसो हुँदैन, जसले हामी माथीको अन्याय दोहोरिदैं आएको छ ।’ आफुहरु दलित भएकै कारण गैर दलितले प्रयोग गर्ने धाराको पानी प्रयोग गर्न समेत नपाउने गरेको उनले सुनाइन् । उनले भनिन्–‘दलित समुदायको मानिस अगुवा हुँदा राम्रो हुँदैन भन्ने मनसाय यहाँका गैर दलित समुदायमा अझै पनि कायमै छ ।’ शिक्षित र जान्ने सुन्ने मानिसले समेत विभेदको मानसिकता त्याग्न नसकेको उनको भनाई छ ।
उनले भनिन्–‘जब सम्म गैर दलित समुदायका अगुवाले बोलेका कुरा लागु गर्दैनन्, तव सम्म जातीय छुवाछुत अन्य होला भन्ने आश गर्न सकिदैन ।’ गोदावरी नगरपालिका–१२ की अमृता बिकले पनि जातीय छुवाछुतका कारण दलित समुदायलाई पानीको समस्या हुने गरेको सुनाइन् । अहिले दलित र गैर दलित समुदायका फरक फरक कुवा निर्माण गरिएका छन्’ उनले भनिन्–‘तर धेरै दलित परिवारका भने अझै आफ्ना कुवा छैनन्, नजिकै रहेका गैर दलितको कुवामा जान दिइदैन ।’
गैर दलित समुदायको कुवाबाट पानी लिन जाँदा टाढाबाट माग्नु पर्ने बाध्यता रहेको उनले सुनाइन् । पानी नखान पाएको पिडा लिएर धेरै परिवारले गुनासो गरिरहेका छन्’ उनले भनिन् –‘तर मुद्धा हाल्ने आँट कसैले गर्दैनन्, जसको फाइदा गैर दलितले लिने गरेका छन् ।’
गोदावरी ११ का वडा अध्यक्ष शिव विकले जातीय छुवाछुत अन्त्यका लागि प्रयास भइरहेको बताए । उनले जातीय छुवाछुत ऐन २०६८ का बारेमा वडाका सवै नागरिकलाई बुझाउने गरेका कारण पहिले भन्दा अहिले धेरै नागरिक सचेत बनेका बताए । तर हाल सम्म जातीय छुवाछुत भएको भन्ने उजुरी भने कतैबाट नआएको उनको भनाई छ ।