कास्की - गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहिबार पोखरामा समापन हुँदैछ ।
आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।
समापन समारोहमा १० औँ संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने कार्यक्रम छ ।
गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लबले तीन सय १४ पदक जितेर शीर्ष स्थानमा छ । प्रतियोगितामा सेना च्याम्पियन बन्ने निश्चित भएको हो । उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ ।
यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ ।सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण छ रजत र ३३ कास्यसहित ४७ पदक जितेको छ ।
आयोजक गण्डकी प्रदेश प्रदेशमा पदकमा अग्रस्थानमा छ । गण्डकीले हालसम्म २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ ।
दसौँ संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा र गण्डकी प्रदेशका सबै जिल्लाहरूमा विभिन्न विधाका खेलहरू सञ्चालन भएका थिए ।