अत्तरिया - नेपालीहरुको महान चार्ड बडा दशैको दशमीको दोस्रो दिन आज ब्रह्मचारिणी माताको पूजा आराधना गरिदै छ । नवरात्र भर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गर्ने गरिन्छ । हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र शुरु भएको हो ।
ब्रह्मचारिणी माताको पूजा आराधनाका लागि देशभरका विभिन्न शक्ति शक्तिपिठहरुमा बिहानै देखि भक्तजनहरुको भीड लाग्ने गर्दछ । पूजा आजाका लागि नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमी सम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस वर्षको विजया दशमी असोज २१ गते मङ्गलबार परेको छ ।