कैलाली- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदुरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी परेको छ । सुदुरपश्चिमका नौ वटै जिल्लाका प्रतिनिधिसभाका १६ सिटमा १ सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवमं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले डडेल्धुरामा विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुदै आएका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्रसम्म रहेका छन् । त्यसैगरी दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमको ठूलो जिल्ला कैलालीमा पाँच प्रतिनिधिसभा सदस्यको सिटमा ४८ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीमा राष्ट्रिय राजनीतिमै परिचित अनुहार उम्मेदवारका रुपमा रहेका छन् । यहाँ पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखकराज भट्ट, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश अध्यक्ष वीरबहादुर बलायरदेखि पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानासम्म उम्मेदवार रहेका छन् ।
कैलालीका १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्रसम्म गरेर ९६ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए । कैलालीमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसैगरी तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभाका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं। १ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी नेत्री एवं पूर्वमन्त्री विना मगर प्रतिनिधिसभाको उम्मेदवार छन् ।
त्यसैगरी ‘हेविवेट’ तर्फ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउँद र निर्वाचन क्षेत्र नं। ३ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक उम्मेदवार रहेका छन् । नेकपा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा सुदूरपश्चिम पूर्वमन्त्री तारा लामा, निर्वाचन क्षेत्र नं २ मा एमाले नेता नरबहादुर धामी र निर्वाचन क्षेत्र नं ३ मा नेत्री निरुदेवी पाल चुनावी मैदानमा छन् ।
त्यसैगरी ६ वटा प्रदेशसभा सदस्यको सिट रहेको कञ्चनपुरमा ५५ जनाले उम्मेदवारी दिएका छन् । जसमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल, संविधानसभा सदस्य दिवान विष्ट उम्मेदवार रहेका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा एउटा प्रतिनिधिसभा सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । रासस