अत्तरिया - नेपालीहरुको महान् चार्ड बडादशैँ आजबाट सुरु भएको छ । पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाका दिन देवीको प्रसादका रुपमा जमरा राख्ने गरिन्छ ।
आजका दिन रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ । यस वर्ष घटस्थापना र विजयादशमीका दिन टिका दुवैको शुभ साइत १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार ‘टिकाको दिन दिनभर साइत हुन्छ । तर, राज्य सञ्चालन गर्नेले साइतमै टिका लगाए शक्ति प्राप्त हुने र सुशासन दिने भएकाले साइत चाहिएको हो ।’ दसमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जन गर्ने साइत छ ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ ।
भगवान् रामले रावण माथि विजय प्राप्त गरेको खुसीयालीमा बडादशैँ मनाइने गरिनन्छ । उपत्यकाका नेवार समुदायमा बाजागाजासहित नवरात्र मेला परिक्रमा गर्ने तयारी भएको छ । घटस्थापनाका अवसरमा दिने बिदालाई पछिल्ला वर्षमा कटौती गरिएको छ ।