काठमाडौँ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदै छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिका रूपमा उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित राणा शनिबार बेलुका नै डडेल्धुरा पुगेकी छन् ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट वि।सं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचनहरूमा निर्वाचित हुँदै आएका छन् ।
देउवा प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँपटक निर्वाचित भएका थिए । वि।सं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी राणाले बताइन् ।
भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पुर्याएको उल्लेखनीय योगदानको स्मरण गरी आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिलेजस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको राणाको धारणा थियो ।
यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए ।
देउवा २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।
त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी देउवा पाँचपटक प्रधानमन्त्री भएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीनपटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन् ।
डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्धनका नेताले जीत हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताए । रासस