काठमाडौं - आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता हुँदैछ।
निर्वाचन आयोगले बिहान १० देखि सॅाझ ५ बजे सम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ।आयोगले मनोनयन पत्रसँगै उम्मेदवारले यी कागजात संलग्न गर्नुपर्ने जानकारी दिएको छ।
के के कागजात आवश्यक हुन्छ ?
- उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि।
- मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।
- प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा
यसैगरी ,कुनै दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र ९प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (बमोजिम)।
धरौटी जम्मा गरेको नगदी रसिद वा बैक भौचर।
स्वघोषणा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, (२०७९ को अनुसूची ६ बमोजिम)।
प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको स्वघोषणा गर्नुपर्नेछ ।
यस्तै उम्मेदवारले कुनै सङ्घीय कानुनले अयोग्य नभएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको स्वघोषणा गर्नुपर्र्ने जनाइएको छ ।
यसैगरी, निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारबाही नभएको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेश नगरेको स्वघोषणा गर्नुपर्नेछ ।