काठमाडौं - १७ वर्षीया नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।
बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे ।
उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए ।मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को मारेको थियो। उनी कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत् काठमाडौं आएका हुन्।
२०७९ भदाै २१ मा एक किशाेरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीकाे आराेपमा काठमाडाैं प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी थिइन् ।
आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाकाे एक हाेटलमा बलात्कार गरेको भन्दै पीडित किशोरीले दिएकाे जाहेरी प्रहरीले भदाै २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकाेमा भदाै २३ मा काठमाडाैं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएकाे थियाे ।
निलम्बन हुनुअघिसम्म क्यानकाे सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । गत असोज ७ मा इन्टरपाेलकाे डिफ्युजन नाेटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खाेजी अघि बढाएकाे थियाे ।
प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ ।
यसअघि उनले सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।