अत्तरिया - दसैं तिहारमा हुने सम्भावित अपराधिक घटना रोक्नका लागि सुदूरपश्चिम प्रदेशमा चार हजार प्रहरी परिचालन गरिएको छ । प्रदेशका सबै जिल्लाहरुमा सम्भावित घटना जोखीमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
‘प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भएका छन्, आवश्यक परे थप परिचालन गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । प्रहरी नायब उपरीक्षक चौधरीका अनुसार अपराधिक घटना न्यूनिकरण गर्न तयार रहेका छन् । दसैँ तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको छ ।
स्थानीय प्रशासनले नागरिकलाई ढुक्कसँग दसैं मनाउन आग्रह गर्दै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जनाएको छ । दसैं तिहारको समयमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेक्स र आवश्यक परेको खण्डमा थप सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
चाडपर्वको समयमा जथाभावी रुपमा सवारी साधन चलाउने र तीब्र गतिमा गाडी हाक्नेलाई कारबाहीको दायरामा ल्याउने छ । प्रदेशवासीलाई भयरहित वातावरणमा दसैं मनाउन आग्रहसहित प्रदेशभरी चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो । दसैंको अवधिमा आर्थिक संकटका कारण हुनसक्ने आर्थिक अपराधका घटनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गएिको हो ।
दसैं, तिहार, छठजस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, सडक दुर्घटना लगायतका घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नियमित ड्युटी सँगै रिजर्व फोर्सलाई पनि परिचालन गरिएको छ ।