डोटी – जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार डोटीको पिपल्ला बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटी , दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ डोटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा मात्रै झण्डै पाँच लाख रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला परेको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए ।
दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री, वितरण भएको गुनासो आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
बजार अनुगमनका क्रममा टोलीले बिस्कुट, चाउचाउ, दालमोठ, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोज, हर्लिक्स लगायतका म्याद नाघेका , गुणस्तरहिन अखाद्य बस्तु भेटिएको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाले बताए ।