अत्तरिया - बडा दशैंअन्तर्गत नवरात्रको नवौं दिन अर्थात् महानवमी पर्व मंगलबार दुर्गा भगवतीकी नवौं स्वरूप सिद्धिदात्री देवीको पूजा–आराधना गरिँदैछ।
नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको नवौं दिन नवदुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ।
चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।
आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ ।
आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा छ । नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा छ ।
नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ। पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन्।
शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ।नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ।
देवीको बिसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ। नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ।