कञ्चनपुर - कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएकोे दुई दशक भन्दा बढी भएको छ । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका टमटाले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम बिभिन्न प्रकारका मूर्ति बनाउन सिके । १० वर्षको अवधिमा कारखानामा काम गर्ने मूर्तिकारको सीप सिकेर नेपाल फर्किएका थिए ।
‘दश वर्ष मूर्ति कारखानामा मजदुरीको काम गर्दा मूर्ति बनाउन सिकिसकेको थिएँ ।’ टमटाले भने । भारतबाट सीप सिकेर नेपाल फर्किएका उनले हाल घरमै भगवानका मूर्ति बनाउछन् । तामा, पित्तल, ढुङगा, काठ र सिमेन्टबाट निर्मित विभिन्न भगवानका मूर्ति बनाउने गरेको उनले बताए ।
उनले शिव पार्वती, हनुमान, दुर्गा, हात्ती र बाघ जस्ता विभिन्न भगवान र जीवजन्तुका मूर्ति बनाउने गरेको बताए । आफूले बनाएका मूर्ति नेपालको विभिन्न धार्मिकस्थलमा राखिएको टमटाले बताए । कैलालीको गोदावरीस्थित ६० फिट लामो हुनमानको मूर्ति करिब नौ महिना लागाएर बनाएको उनले बताए ।
गोदावरीधाम बाहेक कञ्चनपुरको पर्यटकीयस्थल शिवलिङगेश्वर धामस्थलमा समेत आफूले बनाएका मूर्ति स्थापित रहेको उनले बताए । नेपालमै मूर्ति बनाउने कारखाना खोल्ने ईच्छा रहेको भए पनि आर्थिक अभावका कारण त्यो सपना पूरा हुन नसकेको टमटाले बताए ।
अहिले पनि मूर्ति बनाउनका लागि भारतबाट मूर्तिकार नेपाल आउने गरेएकाले ‘यही कारखाना स्थापना गर्नसके यहाँ अन्य धेरै नेपालीले रोजगारी पनि पाउँथे सीप पनि हस्तान्तरण हुने थियो’ उहाले भने ‘आर्थिक समस्याका कारण कारखाना स्थापना गर्न नसकेको बताए । रासस