अत्तरिया - बडा दशैंअन्तर्गत नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी पर्व सोमबार दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ।
नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको आठौँ दिन नवदुर्गाको आठौँ रूप महागौरीको पूजा–आराधना गरिन्छ।
महागौरी शिवकी शक्ति हुन्। यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छन्। महागौरीलाई शाम्भवी पनि भनिन्छ।साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छन्। एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छन्।
आज कालरात्रि गरिँदै
आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।
आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
महाष्टमीको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।देशका विभिन्न शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।