बैतडी - जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आइतबारदेखि जात्रा सुरु भएको छ । महासप्तमीका दिन सुरु भएको जात्रा महाष्टमीका दिन बलि सहित सम्पन्न गरिन्छ । घटस्थापनादेखि नित्य पूजा भइरहेको आइतबार मन्दिरमा महासप्तमीको अवसरमा जात्रा शुरु भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।
उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थपनादेखि नै पूजाआजा सुरु हुन्छ । फूलपाती भित्र्याएर आज बिशेष पूजाआजा हुने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा रांगाको बलि दिने भाकल गरेकाहरुले आज नै रांगा मन्दिरमा लगेर बाध्ने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत आउने गरेका बोहराले बताए ।
नेपालका मात्रै नभएर छिमेकी देश भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका दशरथचन्द नगरपालिका २ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा लागेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको र महासप्तमीको दिन विशेष पूजाआजा हुने उनले बताए ।
मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ ।
देहीमाण्डौं क्षेत्र मदिरा निषेधित क्षेत्र घोषणा
यसैबीच , हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवधि सम्म बैतडीको देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।
दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको दिन राँगाको बलिसहित जात्रा हुने भएको र सो जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए ।
मदिरा सेवन र विक्रिका कारण विभिन्न खालका समस्याहरु उत्पन्न हुने भएकाले दशैंको अवधि सम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । कसैले मदिराको कारोबार र सेवन गरेमा कानुन अनुसार कारबाही हुने समेत जनाइएको छ ।