काठमाडौँ - सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सरकार आफैंले बनाएको कार्यविधि र मापदण्डविपरीत पूर्वप्रधानमन्त्री खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ। कसलाई कति रकम बाँडियो भन्ने सरकारले गोप्य राखेको छ।
सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ मा मात्रै मन्त्रिपरिषद्ले नै नयाँ मापदण्ड जारी गरेको थियो ।
तर, मापदण्ड जारी भएको ३ महिना बित्न नपाउँदै एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई मन्त्रिपरिषद्बाट निर्णय गराएर २० लाख रुपैयाँ निकासा गरिएको हो । उक्त रकम खनाललाई छिट्टै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।
केही महिनाअघि पूर्वराष्ट्रपति डा रामवरण यादवलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर १० लाख रुपैयाँ दिइएको थियो । डा यादवले अहिले पनि सरकारी आवास, उपसचिवसरहका कर्मचारी, मासिक ५० हजार रकम, २ वटा गाडी, सहयोगी, चालकलगायत सुविधा लिइरहेका छन् । खनाल र यादव तथा अरू आसेपासेलाई दिइएको रकम र निर्णय भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
पूर्वप्रधानमन्त्री खनाललाई दिन लागिएको रकम पूर्वविशिष्ट व्यक्तिको हैसियतमा दिइँदै आएको सुविधाबाहेक हो ।गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को विवरण सरकारले अझै गोप्य राखेको छ ।गृह मन्त्रालयका अनुसार राहत तथा उपचार खर्चबापत बर्सेनि सरकारी ढुकुटीबाट मन्त्रिपरिषद्ले नेता र आसेपासेलाई करोडौं रुपैयाँ बाँड्दै आएको छ ।