अत्तरिया - बडा दशैंअन्तर्गत नवरात्रको सातौँ दिन अर्थात् महासप्तमी आइतबार कालरात्रि देवीको पूजा गरिंदैछ ।
नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
कालरात्रिको स्वरूप भयंकरको छ। कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने गर्छिन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ।
चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास छ।
यस दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ। विद्याका सामग्री, पुस्तक, अभ्यासपुस्तिका र कलमको पनि पूजा गरिन्छ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।
फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।