धनगढी- धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने भएका छन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गर्ने भएका हुन् ।
उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २ सय ६९ जनालाई पोशाक किनिदिने बताएका छन् ।
हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरु, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई पोशाक किनिदिने बताए । उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवा सुविधा नलिने घोषणा गरे अनुरुप नै बाचा पुरा गरेको बताए ।
यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधा बाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए । यस्तै जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६ सय ८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए ।
उनले चुनावअघि धनगढी उपमहानगरपालिकाबाट कुनै सेवासुविधा नलिने प्रतिवद्धता समेत गरेका थिए ।