धनगढी- नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्टघन गरेको संसद् पुनःस्थापनाका लागि आफूहरुले गरेका क्रियाकलापमा कुनै पनि खालको आत्मालोचना नगर्ने बताएका छन् ।
शुक्रबार धनगढीमा एक कार्यक्रममा बाल्दै उनले अहिले चुनावका बेला त्यति बेलाका सबै कुरामा समीक्षा गर्ने समय छैन भने । एमाले अध्यक्ष ओलीले आफूलाई हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरेर हस्ताक्षर गर्ने, अदालत जाने १० जनाले उम्मेदवार हुने हो भने आत्मालोचना गर्नुपर्छ भन्ने धारणा राखेको चर्चा भइरहेको बेला नेता रावलले आफूले आत्मालोचना नगर्ने बताएका हुन् ।
'मैले धेरै टेलिभिजनसँगको अन्तर्वार्तामा पनि आत्मालोचना गर्ने कुरै छैन भनेको छु । अहिले पनि म त्यही कुरामा अडिग छु' उनले भने ।
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल नाम सिफारिस भएका डा रावलले पार्टीले उम्मेदवार बनाए उम्मेदवार हुने बताए । अछाममा चुनाव लड्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने , म चुनाव लड्न तयार छु यो कुरा धेरै ठाउँमा भनिसकेको छु तर हाम्रा नेताहरुका कुरा सुन्नु भएकै छ, हेर्दै जाउँ के गर्नुहुन्छ ।
नेता रावल आफ्नो एकल नाम सिफारिस भएपछि अछाम पुगेर एक साता लामो बसाइपछि (आज) शुक्रबार काठमाडौं फर्किएका छन्। उनले अछाममा एमाले कार्यकर्तासँग भेटघाट र छलफल पनि गरेका थिए ।
उनी अछामबाट बिहिबार चुनावी तयारी तथा कार्यकर्तासँग भेटघाटका लागि धनगढी पुगेका थिए । नेता रावल अघिल्लो निर्वाचनमा समेत अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । ०४८ र ०५६ सालमा सो क्षेत्रमा पराजित रावल ०५१, ०७० र ०७४ को चुनावमा विजयी भएका थिए ।