काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गइरहेको बताएका छन्।दसैंको अवसरमा शुक्रबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
‘स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको छ । आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ‚’ उनले भनेका छन्‚ ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ । नेपाली निरन्तर देशी(विदेशीहरूको क्रिडास्थल भयो भन्ने पनि जनगुनासो रहेको छ ।’
नेपालको विद्यमान संविधान र व्यवस्थामाथि नै प्रश्न उठाउँदै मौलिकता, राष्ट्रियता, नागरिकता, परराष्ट्र नीति, भागबन्डा केन्द्रित राजनीति र भ्रष्टाचारको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका हुन् उनले भने ।
‘मौलिक धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहीत र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको छ ।
राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्,’ उनले भनेका छन्।
विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लैजाने अवस्था बनेको भन्दै उनले आफूहरूको कुनै कार्यले देश कहिले पनि हार्न नहुने बताएका छन् । साथै उनले परराष्ट्र नीति असन्तुलन भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको दाबी पनि गरेका छन्।
दलहरू आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले कति निष्ठावान् र जनउत्तरदायी रहने भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको पनि उनको भनाइ थियो।