काठमाडौं - बिहिबार सेप्टेम्बर २९, विश्व मुटु दिवस। विश्व मुटु महासंघको आह्वानमा विश्वभर ‘हरेक मुटुलाई मुटुदेखि नै माया गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ।
विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो।
विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ। जसमा विकासोन्मुख र अविकासित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ ।
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिने गरेका छन् । नेपालमा हाल हृदयाघातबाट प्रभावितको वास्तविक तथ्यांक उपलब्ध छैन, तर अस्पतालहरूको तथ्यांक हेर्दा यो संख्या प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ ।
सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनी २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। हृदयाघात सबैभन्दा बढी मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ।
स्वस्थ खानेकुरा खान, शारीरिक व्यायाम गर्न, शरिरको तौललाई नियन्त्रणमा राख्न, धुमपान र मद्यपान छाड्न, कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रणमा राख्न र मानसिक तनाव व्यवस्थापन गर्न सके मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।