काठमान्डौं- नेपालमा पछिल्लो समय डेंगीको प्रकोप तिब्र रुपमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २५ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलाली गरी १८ हजार १ सय ६५ जना संक्रमित छन् । जुन ८६ प्रतिशतभन्दा बढी हो ।
तीमध्ये काठमाडौंमा ८ हजार १ सय ३२, ललितपुरमा ४ हजार ३ सय ७७, मकवानपुरमा १ हजार ७ सय १७, दाङमा १ हजार २ सय ५२ जनामा संक्रमण देखिएको छ । अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन् । यस्तो अवस्थामा के–के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ ।
कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन् ।
टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहैमा विभिन्न औषधि सेवन गर्दा त्यसले रक्तस्रावलगायत अन्य समस्या देखिएको बताए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २५ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ भने ३२ जनाको मृत्यु भइसकेको छ । तर अहिले तथ्यांकमा भन्दा धेरै डेंगी संक्रमितहरू देशैभरी छन् र उनीहरू सबै आ–आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेको बताइएको छ ।