अत्तरीया- सुदूरपश्चिमका यातायात व्यवसायीले दसैं तथा दिपावली सुरु भएसँगै पर्याप्त संख्यामा यात्रुवाहक सवारीसाधन संञ्चालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरेर लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले बताएका छन् ।
धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा सीधा बस सेवा सञ्चालन हुने गरेको छ । धनगढीमा प्रधान कार्यालय रहेका बस व्यवसायी समितिले यहाँबाट करिब ८ सय ५० यात्रुबाहक सवारी साधनले सर्वसाधारणलाई विभिन्न गन्तव्यमा पु¥याउने गरेको बताएका छन् ।
कर्णाली रिभर यातायात प्रालिका निवर्तमान अध्यक्ष धिरज शाहीका अनुसार डिजेलमा भएको मुल्यवृद्धि र एकतर्फी यात्रुका कारण दसैं आए पनि व्यवसायी भने उत्साहित हुन् नसकेको बताए ।
‘दसैं तिहारमा एकतर्फी यात्रु बोक्नुपर्ने हुन्छ । जसले गर्दा लागत खर्च बराबर मात्रै उठ्ने गरेको छ,’ उनले भने, । ‘डिजेलको मुल्य बढ्दा व्यवसायी मार्कामा परेका छन् । धनगढीबाट पहाडी रुटमा चल्ने गाडीले यात्रु पाए पनि पहाडबाट धनगढी र महेन्द्रनगर फर्किदा भने रित्तै आउनुपर्ने व्यवसायीले जनाएक छन् ।
यस्तै काठमाडौबाट यात्रु पाउने भएपनि धनगढीबाट भने रित्तै फर्कनुपर्ने व्यवसायीको गुनासो रहेको छ । त्यस्तै खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले अनिवार्य दुई चालक राख्नुपर्ने नियमले थप आर्थिक भार परेको बताए । ‘काठमाडौबाट यात्रु पाइन्छन् तर यताबाट रित्तै जानुपर्छ । झन लामो दुरीमा दुई जना चालक राख्नुपर्ने नियमले हामी समस्यामा पर्ने भएका छौँ’ उनले भने।
सुदूरपश्चिमका बस व्यवसायीलाई तिहारपछि भने पहाडी जिल्लाबाट तराई झर्ने यात्रु पाइने गरेपनि पहाड उक्लिदा रित्तै गाडी हाक्नुपर्छ । तिहारलगत्तै धनगढीबाट काठमाडौ जाने यात्रु मिले पनि फर्किदा भने यात्रु नपाउने समस्या रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताएका छन् ।