धनगढी - सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ। एसपीए कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक भव्य समारोहकाबीच अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड पाएको हो ।
वातावरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विश्वभरका शैक्षिकसंस्था सहभागी उक्त कार्यक्रममा एसपीएलाई स्थानीय वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो । ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले प्रदान गरेको उक्त अवार्ड पाउने एसपीए नेपालको एकमात्रै कलेज हो ।
४० देशका दुईहजार बढी शैक्षिक संस्थाहरुले सहभागिता जनाएको कार्यक्रममा एसपीएले उक्त अवार्ड पाएको हो ।एसपीए कलेजले धनगढी मुख्य तथा सहायक बजार क्षेत्रमा, विभिन्न स्कुलहरु, छात्रावासहरु, धार्मिक, सामाजिक क्षेत्रलगायत सरकारी निकायहरुमा, डुबान क्षेत्रलगायत विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएको छ । यस्तै वातावरण हराभरा बनाउनका लागि कलेजले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।
समारोहमा एसपीएका पूर्व कर्मचारी हर्क बोहराले उक्त अवार्ड ग्रहण गरेका थिए ।शैक्षिक क्रियाकलापबाट स्थानीय वातावरण संरक्षणमा खेलेको भूमिकालाई मुख्य आधार बनाएर आयोजकले अवार्ड प्रदान गरेको हो । यो कार्यक्रम संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक काउन्सिल अन्तर्गत समेत पर्दछ ।
एसपीएका क्याम्पस प्रमुख योगराज गौतमले संसारको एक कुनामा रहेको कलेजलाई अर्को कुनामा रहेको संस्थाले सम्मान गर्दा अन्त्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । उनले आफूहरुले विद्यार्थी, अभिभावक तथा समाजको हितमा काम गर्दाको प्रतिफल पाएको बताए ।