काठमाडौं - डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिल समस्या आउन सक्ने भन्दै डाक्टरले सचेत रहन आग्रह गरेका छन् ।
ज्वरो कम भएपछि डेंगी निको भएको भन्दै लापरबाही गर्दा ज्यानै जाने जोखिम हुन्छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार ज्वरो घटेपछि कतिपयमा जटिल अवस्था अर्थात् ‘क्रिटिकल फेज’ सुरू हुने गर्दछ । यो सामान्यतया २४ देखि ४८ घण्टामा देखिने गर्दछ ।
यस्तो अवस्थामा पेट वा फोक्सोमा पानी जम्ने सम्भावना रहन्छ । यस्तो अवस्था एक्सरे तथा अल्ट्रासाउन्ड मेसिनबाट पत्ता लगाउन सकिन्छ । यो समयमा बिरामी अचेत अवस्थामा समेत जान सक्नेछ र यसै समयमा रक्तस्रावको समस्या समेत देखा पर्न सक्छ । समयमा उपचार नपाए संक्रमितको ज्यान समेत जान सक्ने डाक्टर पुनले बताए ।
यस्तै, यो अवस्थामा कलेजो र मिर्गौला समेत खराब हुन सक्छन् । त्यसैले ज्वरो कम भए पछि पनि स्वास्थ्यको परीक्षण गर्न उनको सुझाव छ । उनका अनुसार तारन्तार बान्ता हुनु, अत्यधिक पेटमा पीडा हुनु, नाक, गिजा वा अरू अंगबाट रगत बग्नु, आलस्यरबेचैनी हुनु जटिलताका संकेत हुन् । यस्ता लक्षण देखिनासाथ अस्पताल जान उनको सल्लाह छ ।
देशभर डेंगीको संक्रमण फैलिएसँगै बिरामीको संख्या पनि बढिरहेको छ । अहिलेसम्म २५ हजार भन्दा धेरैलाई डेंगीको संक्रमण पुष्टि भएको छ भने ३२ जनाको ज्यान गएको छ ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। डेंगीका कारण ज्यान गुमाउने संख्या बढिरहेकाले डाक्टरले सचेत हुन आग्रह गरेका छन् ।